देवघाट, वैशाख १३ – देवघाट क्षेत्रका युवा नेतृत्व विकास तथा सामाजिक सेवामा सक्रिय संस्था देवघाटधाम जेसीज र गुणस्तरीय घरेलु सरसफाइ सामाग्री उत्पादनमा समर्पित हिमशिखर सोप एण्ड हर्व्स उद्योगबीच महत्वपूर्ण कर्पोरेट समझदारी सम्पन्न भएको छ।
यस समझदारी अनुसार अब देवघाटधाम जेसीजका सम्पूर्ण सदस्यहरूले हिमशिखर सोप एण्ड हर्व्स उद्योगबाट उत्पादित सामाग्रीहरूमा ३० प्रतिशत विशेष छुटको सुविधा प्राप्त गर्ने भएका छन्। सम्झौताअनुसार सदस्यहरूले हिमांशु अर्गानिक साबुन, Himanshu Liquid Hand Wash, Kaligandaki Liquid Detergent, Kaligandaki Solid Laundry Soap लगायतका विभिन्न साबुन तथा सरसफाइ सामाग्रीहरूमा सहज पहुँच प्राप्त गर्नेछन्।

कर्पोरेट सम्झौता कार्यक्रममा हिमशिखर सोप एण्ड हर्व्स उद्योगका तर्फबाट प्रबन्धक कुलचन्द्र न्यौपाने, देवघाटधाम जेसीजका अध्यक्ष जेसी प्रशन्न ढकाल, कार्यकारिणी उपाध्यक्ष जेसी माधव न्यौपाने, तथा व्यवसायिक क्षेत्रका उपाध्यक्ष जेसी डा. सम्राट अधिकारीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रबन्धक कुलचन्द्र न्यौपानेले हिमशिखर सोप एण्ड हर्व्स उद्योगले नेपाली उपभोक्ताको आवश्यकता र स्वास्थ्यलाई ध्यानमा राखी गुणस्तरीय, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले देवघाटधाम जेसीजसँगको सहकार्यले सामाजिक संस्थाहरूलाई पनि आफ्नो उत्पादन लाभान्वित गराउन पाउँदा गर्व महसुस भएको बताउनुभयो।
देवघाटधाम जेसीजका अध्यक्ष जेसी प्रशन्न ढकालले संस्थाका सदस्यहरूलाई गुणस्तरीय उत्पादनमा पहुँच प्रदान गर्दै स्थानीय उद्यमशीलतालाई सहयोग पुर्याउने तथा बर्ष २०२५ को प्रकरण "Dream Dare Do" बमोजिम उद्दम गरिरहेका व्यक्तिहरुको प्रबर्धन गर्ने उद्देश्यले कर्पोरेट समझदारी गरिएको जानकारी दिनुभयो। उहाँले भविष्यमा पनि यस्ता सहकार्यहरू विस्तार गर्दै सदस्यहरूको हित र स्थानीय विकासमा टेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी माधव न्यौपाने र व्यवसायिक क्षेत्रका उपाध्यक्ष डा. सम्राट अधिकारीले पनि यस्तो किसिमको सहकार्यले सदस्यहरूलाई प्रत्यक्ष लाभ पुग्ने र स्थानीय उत्पादनलाई विश्वासको साथ प्रोत्साहन गर्ने अवसर मिल्ने धारणा व्यक्त गर्नुभएको थियो।
यस सहकार्यबाट देवघाट क्षेत्रका सामाजिक अभियन्ता तथा युवा नेतृत्वमा सक्रिय सदस्यहरूलाई उच्च गुणस्तरीय स्वदेशी उत्पादन प्रयोग गर्न थप उत्प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। साथै, यस्ता सहकार्यहरूले स्थानीय उद्योगको प्रवर्द्धन र आर्थिक विकासमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।