देवघाटधाम जेसीज र निर्देशक जेसी अर्जुन सापकोटा बीच पशु कृत्रिम गर्भाधान सेवासम्बन्धी कर्पोरेट समझदारी सम्पन्न
देवघाटधाम, तनहुँ – २०८२ वैशाख — देवघाटधाम जेसीज र देवघाटधाम जेसीजका निर्देशक जेसी अर्जुन सापकोटा बीच एक महत्वपूर्ण कर्पोरेट समझदारी सम्पन्न भएको छ। उक्त समझदारीअनुसार देवघाटधाम जेसीजका सदस्यहरूलाई घर तथा पशु फर्महरुमा भएका पशु कृत्रिम गर्भाधान (Artificial Insemination) सेवामा विशेष छुट प्रदान गरिने व्यवस्था गरिएको छ।
समझदारी बमोजिम, देवघाटधाम जेसीजका सम्पूर्ण साधारण सदस्यदेखि आजीवन सदस्यसम्मले आफ्ना घर तथा पशु फार्ममा रहेका गाई, भैंसी लगायत अन्य पशुहरूको कृत्रिम गर्भाधान सेवा लिँदा सेवा शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्नेछन्।
देवघाटधाम जेसीजका अध्यक्ष जेसी प्रशन्न ढकालका अनुसार, बर्ष २०२५ के प्रकरण "Dream Dare Do" अनुसार युवा उद्दमीहरुको वृद्धि गरी परदेश पलायन हुने क्रमलाई रोक्ने उद्देश्य साथ गरिएको यस समझदारीले सदस्यहरूको व्यावसायिक कृषि तथा पशुपालन गतिविधिमा सहयोग पुग्नुका साथै क्षेत्रीय पशु उत्पादन र आर्थिक उन्नतिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। साथै, उनले पशुपालन व्यवसायमा आधुनिक प्रविधिको प्रयोगमार्फत उत्पादनशीलता वृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले यस किसिमका सहकार्यलाई प्रोत्साहित गरिएको बताए।

सम्झदारीमा पशु स्वास्थ्य, वंश सुधार तथा उच्चस्तरीय उत्पादन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ। निर्देशक जेसी अर्जुन सापकोटाले विश्वसनीय, वैज्ञानिक र परिणाममुखी सेवा प्रवाह गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले देवघाट क्षेत्रका किसान तथा पशुपालकहरूलाई लक्षित गर्दै कम मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
सम्झदारी कार्यक्रम पश्चात आयोजित संक्षिप्त कार्यक्रममा, देवघाटधाम जेसीजका पदाधिकारी तथा सदस्यहरूले सहकार्यलाई स्वागत गरेका थिए। उनीहरूले देवघाट क्षेत्रमा कृषिप्रधान अर्थतन्त्रलाई सुदृढ बनाउन यस्ता सहकार्यको विशेष आवश्यकता रहेको धारणा व्यक्त गरे।
यस समझदारीबाट देवघाटधाम क्षेत्रमा पशुपालन व्यवसायलाई थप वैज्ञानिक र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ। साथै, देवघाटधाम जेसीजले आगामी दिनहरूमा आफ्ना सदस्यहरूको व्यावसायिक तथा व्यक्तिगत जीवनस्तर अभिवृद्धि गर्न विभिन्न किसिमका सहकार्य र समझदारी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।