साउन १ बिहीबार – पर्वत जिल्लाको सक्रिय सामाजिक संस्था पर्वत जेसीजको वर्ष २०२५ को विशेष साधारण सभा कुश्मास्थित सचिवालयमा सम्पन्न भयो।
संस्थाका अध्यक्ष जेसी अच्युत पौडेलको अध्यक्षतामा सम्पन्न उक्त सभामा पदाधिकारी, पूर्वअध्यक्षहरू, कानुनी सल्लाहकार, महासचिव, उपाध्यक्ष, निर्देशक तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा आगामी भदौमा आयोजना हुन लागेको ७-A साइड खुल्ला फूटबल प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित बनाउन विशेष छलफल गरिएको थियो। प्रतियोगिताको सफल आयोजनाका लागि कार्यविभाजन गरी संयोजन समिति, प्रचारप्रसार समिति, निर्णायक टोली व्यवस्थापन, भौतिक पूर्वाधार व्यवस्थापन लगायत विविध उपसमितिहरू गठन गरिएको छ।
अध्यक्ष पौडेलले प्रतियोगिता मार्फत जेसीज संस्थाको पहिचानलाई अझ सबल बनाउँदै युवाहरूमा खेलप्रतिको चेतना अभिवृद्धि गर्ने लक्ष्य रहेको बताउँदै, सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
सभामा संस्थाका विगतका निर्णयहरूको अनुमोदन, त्रैमासिक कार्यक्रमहरूको समिक्षा तथा जेसिज सप्ताह लगायत विविध महत्वपूर्ण विषयमा समेत विस्तृत छलफल गरियो।
कार्यक्रममा अध्यक्षीय क्लब अध्यक्ष जेसी निर्मल विश्वकर्मा, निवर्तमान अध्यक्ष मिलन पौडेल, कानुनी सल्लाहकार अमृत पोखरेल, महासचिव प्रवेशराज पुरी, कार्यकारी उपाध्यक्ष शार्मिला पौडेल र मञ्जु शर्मा, तालिम निर्देशक पदमलाल गौतम, उपाध्यक्ष अर्जुनराज पुरी, पवन श्रेष्ठ, सुजन श्रेष्ठ, पार्वती शर्मा, निर्देशक अजय पोखरेल, शाखा सम्पादक एन्जल कर्मचार्य, सदस्य सुरज श्रेष्ठ, निरमाराज भण्डारी र लक्ष्मण बि.सी. लगायतको गरिमामय उपस्थिति रहेको थियो।