लहान, २४ असोज २०८२, शुक्रबार
"राष्ट्रका
लागि खेल, स्वास्थ्यका लागि खेल" भन्ने मूल नारालाई आत्मसाथ गर्दै
युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने र युवा सशक्तिकरणमा योगदान पुर्याउने
उद्देश्यले लहान सिटी जेसीज वर्ष २०२५ को आयोजना तथा राजदेवी टेन्ट हाउस एण्ड
स्वीट साउण्ड, लहान-१८ को सौजन्यमा गाउँ स्तरीय क्रिकेट टुर्नामेन्ट आज एक भव्य
समारोहबीच सम्पन्न भएको छ । लहान नगरपालिका वडा नं. १८ स्थित खुदिभखारि चोकमा
सम्पन्न भएको उक्त प्रतियोगिताको उपाधि शोभापुर युवाक्लबले हात पारेको छ ।
गत १५ दिनदेखि लिग प्रणालीमा सञ्चालित यस टुर्नामेन्टमा शोभापुर-८, शोभापुर
युवाक्लब, बासाजौरी युवाक्लब र बिसनपुर युवाक्लब गरी कुल ४ टिमको सहभागिता
रहेको थियो । आज भएको समापन समारोहमा प्रतियोगिताको विजेता शोभापुर युवाक्लब र
उपविजेता बसाजौरी युवाक्लबलाई पुरस्कार वितरण गरिएको थियो ।
लहान सिटी जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी देवन लाल ठाकुरको
अध्यक्षतामा सम्पन्न समापन समारोहका प्रमुख अतिथि राजदेवी टेन्ट हाउस एण्ड स्वीट
साउण्डका प्रोप्राइटर श्री शोभित कुमार महतो हुनुहुन्थ्यो । त्यसैगरी, अम्पायर
श्री सुरेश कुमार राम र वडा सचिव श्री भारत दास अतिथिको रूपमा उपस्थित
हुनुहुन्थ्यो । कार्यक्रममा जेसीजका बोर्ड पदाधिकारी, वडा
प्रतिनिधि, समाजसेवी, खेलाडी तथा स्थानीय गन्यमान्य
व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमका संयोजक तथा लहान सिटी जेसीजका उपाध्यक्ष जेसी नागेश्वर
महतोले कार्यक्रमको संयोजन गर्नुभएको थियो भने कोषाध्यक्ष जेसी प्रदिप यादवले
स्वागत मन्तव्य राख्नुभएको थियो ।
प्रतियोगिताको प्रथम विजेता शोभापुर युवाक्लबलाई शिल्ड, कप र
टि-शर्ट प्रदान गरिएको थियो भने द्वितीय स्थान हासिल गर्न सफल बसाजौरी युवाक्लबलाई
कप र शिल्ड प्रदान गरिएको थियो । विजेता तथा उपविजेता टिमलाई अध्यक्ष जेसी देवन
लाल ठाकुर र प्रमुख अतिथि शोभित कुमार महतोले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण
गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्षीय मन्तव्य राख्दै जेसी देवन लाल
ठाकुरले जेसीजको परिचय, मिसन, भिजन र आस्थाबारे
प्रकाश पार्नुभयो । उहाँले यस कार्यक्रमको उद्देश्य, औचित्य र
उपलब्धिबारे चर्चा गर्दै युवा र खेलकुदको अन्योन्याश्रित सम्बन्ध रहेको र यसले
युवाहरूलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्न मद्दत पुर्याउने बताउनुभयो । युवाहरूलाई
खेलकुदजस्ता सिर्जनात्मक गतिविधिमा संलग्न गराउनु आजको आवश्यकता रहेको र यस
प्रकारका कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो । "राष्ट्रका
लागि खेल, स्वास्थ्यका लागि खेल" भन्ने मूल नारालाई आत्मसाथ गर्दै युवा
शशक्तिकरणको उद्देश्यका साथ लहान सिटी जेसीज वर्ष २०२५ द्वारा आयोजित यस
प्रतियोगिताले स्थानीय युवाहरूमा खेलकुदप्रति उत्साह जगाएको छ। उहाँले यस
कार्यक्रमको सौजन्यता गरेकोमा राजदेवी टेन्ट हाउस एण्ड स्वीट साउण्डलाई धन्यवाद
दिँदै भविष्यमा पनि यस्ता कार्यक्रमहरूले निरन्तरता पाउने प्रतिबद्धता व्यक्त
गर्नुभयो ।
उहाँले युवाहरूलाई
जेसीज अभियानमा सामेल भई समाजसेवामा लाग्न आह्वान गर्दै कार्यक्रम सफल पार्न सहयोग
गर्नुहुने सौजन्यकर्ता, अतिथि, खेलाडी तथा
उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापनको घोषणा गर्नुभयो ।