नेपाल जेसीज डडेल्धुरा शाखाले समुदायमा एक सातासम्म फरक फरक कार्यहरु गरि सप्ताह मनाएको छ । जेसीज डडेल्धुरा शाखाले शिक्षा, स्वास्थ्य, खेलकुद र जनचेतनाका कार्यक्रम गरि जेसीज सप्ताह २०२५ मनाएको हो ।

जेसीज सप्ताहको शुरुवात कात्तिक १९ गते उग्रतारा मेला (देहिजाँत) मा निःशुल्क प्रशोधित शुद्ध पीउने पानी वितरण गरेर गरिएको थियो । मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रतियोगिताको उपाधी जित्न सफल र सहभागीहरु लाई पुरस्कार, सम्मान गर्दै जेसीज सप्ताहको समापन गरिएको छ ।

दोस्रो दिन उग्रतारा मन्दिर सरसफाई, तेस्रो दिन रक्तदान, चौथो दिन विद्यार्थीहरु लाई लागु औषध दुव्र्यसनी सम्बन्धि जनचेतना मूलक कार्यक्रम, पाँचौ दिन ब्याटमिन्टन प्रतियोगिता, छैटौ दिन वकतृत्वकला प्रतियोगिता र सातौ दिन निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको थियो ।

ब्लड बैंक डडेल्धुरामा रक्तदान कार्यक्रमको आयोजना गरि विभिन्न समुहको रगत पहिचानसंगै १० पीन्ट रगत संकलन गरिएको थियो । गन्यापधुरा गाउँपालिका १ रुवाखोलामा गरिएको निःशुल्क आँखा जाँच शिविरमा १४० जना स्थानीयको आँखा जाच गरि १०० जनालाई निःशुल्क औषधी वितरण गरिएको थियो । ५८ जना नजिकको नदेख्ने समस्या भएकाहरु लाई रिडिंग ग्लास निःशुल्क उपलब्ध गराईएको छ । मोतिबिन्दु भएका ११ जनाको निःशुल्क अप्रेसन गर्ने सम्झौतासमेत गरिएको छ ।

जिल्ला सदरमुकामको माउन्टेन माविमा अमरगढी नगरपालिका भित्रका मावि स्तरिय विद्यार्थीहरुको सहभागिता गराई वक्तृत्वकला प्रतियोगिता संचालन गरिएको थियो । “आउदो निर्वाचनमा विद्यार्थी युवाको भूमिका” बिषयक वक्तृत्वकला प्रतियोगितामा ज्ञानोदय विद्या निकेतनका छात्रा भावना भट्ट प्रथम, माउन्टेन माविका छात्रा मनिषा रोस्यारा द्धितिय र वैजनाथ मावी मौरडाका छात्रा दिक्षा पैतला तृतिय भईन ।

उनीहरुलाई क्रमश नगद तीन हजार, दुई हजार, एक हजार रुपैयाँसंगै प्रमाण–पत्र र मेडलले सम्मान गरिएको छ ।

यसैगरि जिल्ला स्तरीय खुल्ला पुरुष डबल ब्याटमिन्टन प्रतियोगितामा निरज सिजापती र हरिओम केसी प्रथम, जेसीज डडेल्धुराका कार्यकारणी उपाध्यक्ष आकाश गुरुंग र शेष नगरकोटी दितिय भएका थिए । प्रथम पुरस्कार नगद पाँच हजार र दितृय पुरस्कार नगद तीन हजार रुपैयाँसंगै प्रमाण–पत्र र मेडलले सम्मान गरिएको थियो ।

जिल्ला सदरमुकाम खलंगाको महेन्द्र माविमा कक्षा ११ मा अध्ययनरत १५० विद्यार्थीहरु लाई लागु औषध दुव्यसनीसंगै अपराध र कानुन बारे जनचेतना मुलक कक्षा पनि संचालन गरिएको थियो ।
