जेसीज सप्ताहको दोस्रो दिन ः लागू औषध दुव्र्यसन तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न

2025-11-24

पर्वत जेसीज सप्ताह–२०२५ अन्तर्गत दोस्रो दिन आयोजित लागू औषध दुव्र्यसन तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम उल्लेखनीय सहभागिता सहित सफलतापूर्वक सम्पन्न भएको छ । युवालाई सुरक्षित जीवनशैली, मानसिक सुदृढता र सकारात्मक विचारप्रति उन्मुख गराउने उद्देश्यसहित आयोजन गरिएको कार्यक्रम अत्यन्त प्रभावकारी बनेको सहभागीहरूले अनुभव गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले लागू औषधको तथ्य, दुष्परिणाम, कानुनी व्यवस्था तथा रोकथामका उपायहरूबारे विस्तृत कक्षा सञ्चालन गर्दै युवाहरूलाई सचेत र उत्तरदायी बन्न प्रेरित गर्नुभयो ।

त्यसैगरी सकारात्मक सोच अभियानका अभियान्ता प्रशिक्षक मिलन अधिकारीले मानसिक स्वास्थ्य, आत्मविश्वास विकास, तनाव व्यवस्थापन तथा जीवनशैली सुधारसम्बन्धी अत्यन्त व्यवहारिक र प्रेरणादायी सत्र सञ्चालन गर्नुभयो ।

कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसी सुरज श्रेष्ठले दिँदै उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, पूर्व पदाधिकारी, विद्यालय परिवार तथा विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्नुभयो । उहाँले युवालाई सही दिशा र सकारात्मक मार्गदर्शन प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमको आवश्यकता र महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

सप्ताहको मुख्य संयोजनको जिम्मेवारी जेसी शर्मिला शर्माले दक्षतापूर्वक वहन गर्नुभएको थियो भने कार्यक्रमलाई महासचिव जेसी प्रवेशराज पुरीको सुव्यवस्थित सञ्चालनले अझ जीवन्त र प्रभावकारी बनायो । कार्यक्रमको अध्यक्षता जेसीजका अध्यक्ष जेसी अच्युत पौडेलले गर्नुभएको थियो  । कार्यक्रममा युवाको सीप, व्यक्तित्व र नेतृत्व उदयको साझा उत्सव रहेको उल्लेख गर्दै अतिथि, विद्यालय, संयोजन टोली, सञ्चारकर्मी तथा सहभागी विद्यार्थीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँका अनुसार, युवालाई सही ज्ञान, मनोबल र प्रेरणा प्रदान गर्नबाटै स्वस्थ र सक्षम समाज निर्माणको दिशा बलियो हुन्छ ।

कार्यक्रममा जेसीजका अध्यक्षीय क्लबका अध्यक्ष जेसी निर्मल वि.क, पूर्व अध्यक्षहरू राजन जोशी, उषा चापागाई , श्री नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश रिजाल, शिक्षक–शिक्षिका, पत्रकार, विभिन्न संघ सस्थाका पदाधिकारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप प्रभावशाली बनाएको थियो ।

पर्वत जेसीजले सञ्चालन गरिरहेको सप्ताहव्यापी कार्यक्रमहरूबाट युवामा आत्मविश्वास, सचेतना र नेतृत्व–क्षमता अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरिएको छ ।  आयोजक संस्थाको तर्फ देखि कार्यक्रम सफल बनाउन योगदान पु¥याउने सबै प्रति हार्दिक धन्यवाद प्रकट गर्दछौं ।


JCI News Archive