राजविराज जेसीजको पदस्थापना कार्यक्रम सम्पन्न
राजविराज जेसीजको वर्ष २०२६ का लागि नवनिर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम राजविराज जेसीजका अध्यक्ष जेसी पंकज कुमार देवको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि जेसिआई नेपालकी उपाध्यक्ष तथा सिनेटर जेसी रजनी थापा रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा नेपाल जेसीज वर्ष १९८६ का राष्ट्रिय अध्यक्ष जेसी सिनेटर गोविन्द सिंह तथा महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस (मविव), राजविराजका क्याम्पस प्रमुख डा. सुशील चन्द्र कर्ण लगायत राजविराज जेसीजका पुर्व अध्यक्षहरु, साधारण सदस्यहरुको उपस्थिति रहेको थियो।
पदस्थापना समारोहमा नवनिर्वाचित अध्यक्ष जेसी रवी कुमार रायलाई विधिवत रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गरिनुका साथै उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरूलाई पदस्थापना गराइएको थियो।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि जेसी रजनी थापाले जेसीज युवाहरूको नेतृत्व विकास, व्यक्तित्व निर्माण र समाज रूपान्तरणको प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले नवनिर्वाचित कार्यसमितिलाई राष्ट्रिय नीति, मूल्य–मान्यता र अनुशासनअनुसार परिणाममुखी कार्यक्रम सञ्चालन गर्न सुझाव दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि नेपाल जेसीज वर्ष १९८६ का राष्ट्रिय अध्यक्ष जेसी सिनेटर गोविन्द सिंहले जेसीजको दीर्घ इतिहास र योगदानबारे चर्चा गर्दै निरन्तर सक्रियता, संस्थागत स्मरण (Institutional Memory) र अनुशासनले मात्र संगठनलाई दिगो बनाउन सकिने धारणा व्यक्त गर्नुभयो।
त्यस्तै, विशिष्ट अतिथि डा. सुशील चन्द्र कर्णले युवाहरूको नेतृत्व विकासमा जेसीजको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै समाज र शिक्षाको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन यस्ता संस्थाहरूले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
नवनिर्वाचित अध्यक्ष जेसी रवी कुमार रायले आफूलाई प्रदान गरिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै वर्ष २०२६ लाई संगठनात्मक सुदृढीकरण, सदस्य सशक्तीकरण तथा सामुदायिक सेवामा केन्द्रित गर्दै अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
उत्साहपूर्ण सहभागिता र सकारात्मक सन्देशका साथ सम्पन्न पदस्थापना कार्यक्रमले राजविराज जेसीजको आगामी कार्यकाललाई थप सक्रिय, एकताबद्ध र उपलब्धिमूलक बनाउने विश्वास व्यक्त गरिएको छ।