पर्वत जेसीजद्धारा प्रदेश अस्पताल पर्वतलाई १६ लाख मूल्यको एनालाइजर मसिन हस्तान्तरण

2026-03-31

नारी दिवसको अवसरमा पर्वत जेसीजद्वारा प्रदेश अस्पताल कुश्मालाई १६ लाख बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण

पर्वत — अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर पर्वत जेसीजको पहलमा प्रदेश अस्पताल कुश्मालाई करिब रु. १६ लाख मूल्य बराबरको CA-200 Automatic Chemistry Analyzer मेसिन हस्तान्तरण गरिएको छ। उक्त आधुनिक उपकरणले अस्पतालमा स्वास्थ्य परीक्षण सेवालाई थप छिटो, सहज तथा गुणस्तरीय बनाउन महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

उक्त मेसिन खरिदका लागि आवश्यक रकममध्ये केही अंश क्लबकी अध्यक्ष शर्मिला शर्मा ले आफ्नै व्यक्तिगत सहयोगबाट उपलब्ध गराउनुभएको जानकारी दिइएको छ, जसले कार्यक्रमलाई अझ प्रेरणादायी बनाएको छ।

यस महत्वपूर्ण कार्यक्रममा कुस्मा नगरपालिकाका प्रशासनिक अधिकृत किरण पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो भने प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम बहादुर परियार विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा पूर्व अध्यक्ष शंकर गिरी, पूर्व अध्यक्षहरू, निमर्तमान अध्यक्ष, बोर्डका सदस्यहरू तथा जेसीजका साथीहरू र अस्पताल व्यवस्थापन समितिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

हस्तान्तरण गरिएको CA-200 Automatic Chemistry Analyzer मेसिनले रगत तथा शरीरका विभिन्न नमूनाहरूको परीक्षण गरी मधुमेह (ब्लड सुगर), कलेजो सम्बन्धी समस्या, मिर्गौला कार्यक्षमता, कोलेस्ट्रोलको मात्रा, युरिक एसिड, इलेक्ट्रोलाइट सन्तुलन लगायतका महत्वपूर्ण स्वास्थ्य सूचकहरूको छिटो र सटीक विश्लेषण गर्न सक्षम छ। यस मेसिनको प्रयोगले विशेषगरी महिला तथा अन्य बिरामीहरूको स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी र सहज बनाउने अपेक्षा गरिएको छ।

नारी दिवसको सन्दर्भमा गरिएको यस सहयोगले स्वास्थ्य क्षेत्रमा महिलाहरूको पहुँच र सेवा सुदृढ बनाउन सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

पर्वत जेसीज परिवारले यति ठूलो मूल्य बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराउन पाएकोमा गर्व व्यक्त गर्दै यसले स्थानीय बिरामीहरूलाई छिटो र भरपर्दो सेवा प्रदान गर्न सहयोग पुग्ने जनाएको छ।

यसै अवसरमा उक्त मेसिन ल्याउन पहल गर्ने कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी तथा सहयोगी दाताहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।

पर्वत जेसीजले सामाजिक तथा स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनहरूमा पनि यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

JCI News Archive