अन्तर्राष्ट्रिय युवा दिवस–२०८२ को विशेष अवसर पारेर पर्वत जेसीजको समन्वयमा तथा गुड मर्निङ ब्याडमिन्टन गु्रपको योजनामा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता भाद्र ३० र ३१ गते कुस्मा नगरपालिका–४, पर्वत ब्याडमिन्टन संघको कर्भड हल कुस्मामा उत्साहपूर्वक सम्पन्न भएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक रविन सुवेदी प्रमुख अतिथि रहनु भएको थियो । सो अवसरमा गुड मोर्निङ ब्याडमिन्टन समूहका संयोजक अच्युत पौडेलको अध्यक्षता, पर्वत ब्याडमिन्टन संघका अध्यक्ष प्रेमकुमार गुरुङको विशिष्ट आतिथ्य, साथै जेसी अर्जुनराज पुरीको संयोजन र प्रबेशराज पुरीको कुशल सञ्चालन रहेको थियो ।
दुई दिनसम्म चलेको प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका खेलाडीहरूको उल्लेखनीय सहभागिता र उत्कृष्ट खेलकौशलले दर्शकलाई मोहित बनाएको थियो । खेलमैदानमा देखिएका जोश, उमङ्ग र प्रतिस्पर्धात्मक भावनाले खेलाडीमात्र होइन, सम्पूर्ण उपस्थित समुदायलाई प्रेरित गरेको थियो ।
समापन तथा पुरस्कार वितरण समारोहमा बरिष्ठ प्रहरी निरीक्षक रामप्रसाद सापकोटा प्रमुख अतिथि रहनु भएको थियो । त्यसैगरि नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी अभिषेक दुलालको विेशेष उपस्थिति रहेको थियो । उहाँकै आतिथ्यतामा विजयी खेलाडीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरू उदाएका मात्र होइन, खेलकुदप्रति युवाहरूको उत्साह, प्रतिबद्धता र एकताको सन्देश समेत प्रसारित भएको आयोजकहरूले बताएका छन् ।
यस अवसरमा आयोजक गुड मोर्निङ ब्याडमिन्टन समूह र पर्वत जेसीजले प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै पक्षप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
विजयी तथा सहभागी सबै खेलाडीलाई हार्दिक बधाई ज्ञापन गर्दै आयोजक संस्थाले भविष्यमा अझ धेरै युवालाई खेलकुदमा सहभागी गराई सशक्त, स्वस्थ र अनुशासित समाज निर्माणमा योगदान पु¥याइने प्रतिवद्धता व्यक्त गरेको छ ।