संयोजक : डा. आषिश उप्रेती
अध्यक्षता : मिनराज भाट
मिती : २०८२ माघ १ गते
स्थान : बाहकुने दह घोराही १३ दाङ
माघे मेलाको अवसरमा घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दहमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न भएको छ। त्रिभुवन नगर जेसिस, दाङ महिला जेसीज लगाएतले आयोजना गरेको एक दिने स्वास्थ्य शिविरबाट ३१० जनाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्।
त्रिभुवन नगर जेसिसका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसीज सदस्य एवं कार्यक्रम संयोजक डा. आशिष उप्रेतीको टोलीले सुगर, प्रेसर, टाउको दुखाइ, रुघाखोकीलगायतका रोगको परीक्षण गर्नुका साथै आवश्यक औषधि तथा स्वास्थ्य सामग्री वितरण गरेको त्रिभुवन नगर जेसिसका महासचिव बाबुराम पाण्डे (चुडामणि) ले जानकारी दिनुभयो। शिविरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघे मेला जस्ता सांस्कृतिक पर्वमा स्वास्थ्य शिविर सञ्चालन हुनु सराहनीय कार्य भएको बताउनुभयो। उहाँले जनताको स्वास्थ्यमा पहुँच विस्तार गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने भन्दै प्रदेश सरकारले पनि स्वास्थ्य सेवाको पहुँच ग्रामीण तहसम्म विस्तार गर्दै आएको उल्लेख गर्नुभयो।

कार्यक्रममा विशेष अतिथि पूर्व मुख्यमन्त्री शंकर पोख्रेलले स्वास्थ्य सेवा सबै नागरिकको आधारभूत अधिकार भएको बताउँदै सामाजिक संस्थाहरूले सरकारी प्रयासलाई टेवा पुर्याउने गरी यस्ता शिविरहरू सञ्चालन गर्नु सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो।
घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले स्थानीय तह नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको उल्लेख गर्दै समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले त्रिभुवन नगर जेसिससहित सहयोगी संस्थाहरूको भूमिकाको प्रशंसा गर्नुभयो।

कार्यक्रममा त्रिभुवन नगर जेसिसका पूर्व अध्यक्षहरू दीपक शर्मा (समिर), मुकेश शर्मा, रवि किरण केसी, माधव पौडेल, दाङ महिला जेसिसकी अध्यक्ष अर्चना शर्मा, निवर्तमान अध्यक्ष अनिता ढकाल, कानुनी सल्लाहकार लक्ष्मी घमाललगायतको उपस्थिति रहेको थियो।
स्वास्थ्य शिविरमा अन्य रोटरी क्लब अफ दाङ, लायन्स क्लब अफ घोराही सिटी तथा अप्टिमिस्ट क्लब अफ घोराही सिटीको संयुक्त सहकार्य रहेको आयोजकले जनाएको छ।