JCI उर्लाबारीद्वारा ‘उत्कृष्ट नारी’ सम्मान - अन्तर्राष्ट्रिय नारी दिवस बिशेष

2025-03-08

जेसीआई उर्लाबारीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नमुना बाल गृहकी संचालिका मीनाकुमारी बराललाई सम्मान गरेको छ। उर्लाबारीमा अवस्थित नमुना बाल गृह २०५७ सालमा स्थापना भएको हो। हालसम्म सो बाल गृहमा जम्मा १४८ जना बालबालिकाको संरक्षण गरिएको छ भने हाल ६८ जना बालबालिका सो गृहमा आश्रित छन्।


अनाथ तथा आश्रयहीन बालबालिकालाई मातृत्व प्रदान गर्दै उनीहरूको हेरचाह, पालनपोषण, शिक्षा र दीक्षाको जिम्मेवारी वहन गरी समाजमा अतुलनीय योगदान पुर्‍याएको कदरस्वरूप जेसीआई उर्लाबारीले मीनाकुमारी बराललाई सम्मान गरेको हो।


कार्यक्रम महासचिव जेसी रोशन घिमिरेले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको बारेमा प्रकाश पार्दै उपाध्यक्ष जेसी मिलन पोख्रेल मीनाकुमारी बरालको यो महान् कार्यको कदर गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको बताउनुभयो। पूर्व अध्यक्ष मदन बाबु प्रसाईंले जेसीआई उर्लाबारी र नमुना बाल गृहबीचको सम्बन्धको बारेमा प्रकाश पार्नुभयो।


सम्मान ग्रहण गर्दै मीनाकुमारी बरालले सम्पूर्ण जेसीज मनहरुलाई धन्यवाद दिँदै सधैं आभारी रहने कुरा व्यक्त गर्नुभयो। कार्यक्रमको समापन गर्दै अध्यक्ष जेसी टीका प्रसाद भट्टराईले यति ठूलो कार्य गर्न साहस र ठूलो हृदय आवश्यक पर्ने बताउँदै नमुना बाल गृहलाई सधैं जेसीआई उर्लाबारीको साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।


JCI News Archive