
What you should know :
भैरहवा —वात्सल्य एभरेस्ट वुमन्स भलिबल लिगअन्तर्गत लुम्बिनी लाभाज टिमले सोमबार रुपन्देहीको भैरहवामा ट्रफी सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुने लिगमा लुम्बिनीबाट सहभागी हुने खेलाडीबारे पनि जानकारी गराइएको छ ।
Advertisement
लुम्बिनी लाभाजका प्रमुख प्रशिक्षक भरत यादवले सोमबार बिहान आयोजित ट्यालेन्ट हन्टबाट रुपन्देहीकी जानकी केसीलाई छनौट गरिएको जानकारी दिए । सीप, खेल कौशल र उमेर समूह मेल खाँदा केसीलाई छनौट गरिएको जनाए । केसीलाई ५० हजार रुपैयाँमा टिममा आवद्ध गरिएको हो । नेपाल भलिबल संघले खेललाई उचाइ प्रदान गर्न दोस्रो चरणको लिग हुन गइरहेको जनाए । टिममा ९ जना नेपाली र तीन जना विदेशी खेलाडी रहेका जानकारी दिए ।
लुम्बिनी लाभाजकी मार्की खेलाडी अरुणा शाहीले उपाधि जित्नेगरी खेलाडी छनौट गरिएको जानकारी दिइन् । अहिले ट्यालेन्ट हन्टबाट छनौट हुन असफल खेलाडीलाई आगामी दिनमा अवसर प्रदान गरिने बताइन् । 'त्यस अनुसार मेहनत गर्नु होला,' उनले भनिन्, 'आज अनावरण गरिएको ट्रफी लुम्बिनीमा ल्याउने गरी खेल्नेछौँ ।' लुम्बिनी लाभाजसित जोडिन पाउँदा हर्षित रहेको टिम कप्तान रहेकी शाहीले बताइन् ।